विराटनगर । देशभरबाट एमाले पराजित भइरहँदा कोशी प्रदेशमा अप्रत्याशित जित निकालेकी ६६ वर्षीय रुक्मिणी कोइराला अब माननीय भएकी छिन् । उनी राष्ट्रियसभामा आगामी ६ वर्षसम्म माननीयको रुपमा काम गर्नेछिन् ।

निरन्तर पराजय व्यहोरेर आजित भएका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने हारको ह्याट्रिकबाट बचेका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको ६ वर्षे यात्रा सुरक्षित गरे ।

यसअघिका निर्वाचनमा लगातार पराजित बनेका सिटौला यो निर्वाचनमा विजयी भएसँगै अब उनलाई राष्ट्रियसभा अध्यक्ष बन्ने चर्चा छ । सिटौला २०७४ र २०७९ सालको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित बनेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने सिटौलाले उनै लिङ्देनलाई हराएका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए ।

उता राजनीतिको केन्द्रमा नरहेकी सुनसरीको इटहरी उपमहानगरपालिका २ की रुक्मिणी कोइरालाले अप्रत्यासित जित निकालिन् । २०३१ सालदेखि राजनीतिमा जोडिएकी उनले भूमिगत नेताहरुलाई लुकाउने र खानपिनमा सहयोग गर्ने, चिठीपत्र बोक्ने काम गर्थिन् ।

कम्युनिष्ट भएपछि विभिन्न आन्दोलनमा सरिक भएकी उनी महत्वपूर्ण भूमिकामा भने अहिलेसम्म पुगेकी थिइनन् । ‘पार्टीको आन्दोलन, महिला आन्दोलन, महिला हक अधिकारका निम्ति कसरी लड्ने, अधिकार कसरी दिलाउने भन्ने बारेमा एकदम अग्रसर भएर लागियो,’ उनले भनिन्, । उनी हाल एमाले प्रदेश समितिको सल्लाहकार तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज छिन् ।

कोइरालाले गठबन्धनकी उम्मेद्वार चम्पा कार्कीलाई अप्रत्याशित ढंगले पराजित गर्दै देशैभरीबाट एमालेलाई क्लिनस्विप हुनबाट जोगाइन् । गठबन्धनकै ३ जना सांसद र स्थानीय तहका १३ जना प्रतिनिधिले अन्तरघात गर्दा कोइरालाले विजयीको स्वाद चाख्न सफल भएकी हुन् ।

राष्ट्रिय सभामा पुग्न सफल उनलाई जितको परिणाम ल्याइसकेपछि तपाइँको भूमिका के हुन्छ भन्ने प्रश्नमा उनले भनिन्, मैले ३२, ३३ सालदेखि हिंजोदेखि सिकेर आएका कुराहरु, त्यहाँको अनुभवको आधारमा काम गर्ने हो । राष्ट्रियसभामा पनि त्यहाँका मुद्दाहरु के कस्ता हुन्छन् सिकेर, बुझेर, परिस्थितिलाई हेरेर मैले के उठान गर्ने हो भन्ने बारेमा बुझेर काम गर्नेछु ।