२९ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, बीमामा किन सहभागी हुने भन्ने धारणा छ,’ उनले भने ।


अहिले बीमा सचेतनाको आवश्यकता रहेको उनको भनाइ छ । ‘जीवन बीमा होस् वा निर्जीवन बीमा, जोखिममा पर्‍यो भने झमेला हुँदैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ,’ अर्थमन्त्री महतले भने ।बीमा गरिसकेको व्यक्तिलाई आपत् परेको समयमा तिर्न बीमा कम्पनीहरुले आनाकानी गर्ने गरेका कारण यसले सम्भावित बीमा लिन खोज्नेहरुलाई पनि बीमा विस्तारमा अवरोध पुर्‍याउने गरेको उनको भनाइ थियो ।


बीमामा देखिएका समस्या समाधानका लागि यससँग जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन गर्नुपर्नेमा मन्त्री महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।‘बीमा कम्पनीहरुले लिने बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्‍यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहींनेर सर्भेयरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ,’ मन्त्री महतले भने ।कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले बीमालाई नयाँ उचाइमा पुर्‍याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुने बताए ।