इटहरी / प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। हृदयघातका कारण गए राति (मंगलबार) करिब २ बजेतिर उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले जानकारी दिएका छन् । नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्। नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पतालमा पुगेका छन्। नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

नेम्वाङ इलामबाट पाँच पटक विजयी भएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो। वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ पटक–पटक मन्त्री बनेका थिए ।