काठमाण्डौ/ साहित्यकार गोविन्द नेपाल (जी नेपाल) को मुक्तक कृति ‘मुक्तक मन्थन’ को लोकार्पण गरिएको छ। नेपालको निवास बुढानीलकण्ठ नगरपालिका अन्तर्गत कपनमा आइतबार ‘मुक्तक मन्थन’ को लोकार्पण गरिएको हो।

साहित्यकार मधुसूदन पाण्डेय, बिनोद दाहाल वत्स, नारायण नेपाल, बाल साहित्यकार माधव नेपाललगायत साहित्यकारहरूको उपस्थितिमा भएको लोकार्पण कार्यक्रममा उहाँका आफन्तलगायत साहित्यकारको उपस्थिति थियो। Gn Nepal

कार्यक्रममा लेखक तथा साहित्यकार मधुसूदन पाण्डेयले मुक्तककार नेपालको यस कृतिको प्रशंसा गर्दै शुभकामना दिनुभएको थियो । यसैगरी अर्का अतिथि साहित्यकार तथा पत्रकार बिनोद दाहाल वत्सले मुक्तकका सैद्धान्तिक कुराहरु बताउँदै मुक्तककार नेपालको कृतिको सफललताको कामना गर्नुभयो।

कार्यक्रममा साहित्यकार नारायण नेपालले मुक्तककारको मुक्तकशिल्पको चर्चा गर्दै उहाँलाई आगामी दिनमा यस्ता मुक्तक सिर्जना गर्न प्रेरणा प्राप्त भइरहोस् भन्ने कामना व्यक्त गर्नुभयो। मुक्तककार गोविन्द नेपालले कृतिको सिर्जना गर्दाका अनुभवहरु बताउनु भएको थियो भने सो कार्यक्रममा उहाँका केही मुक्तकहरू वाचन गरिएका थिए।

पुस्तक लोकार्पण कार्यक्रममा इन्जिनियर नरहरि नेपाल, सुनिता गौतम, लक्ष्मी नेपाल अधिकारी, सुष्मा कुइँकेल, प्रमिला भट्टराई, प्रतिमा भट्टराई, अप्सरा नेपाल खतिवडा, बालकथाकार अस्मिता नेपाललगायतको उपस्थिति थियो।