झापा/ प्रदेश १को मुख्य शहर बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले झापाको बिर्तामोड-१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गर्नुभएको छ। डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गर्नुभएको हो।

बिर्तामोडमा शनिवार भएको एक कार्यक्रमका बीच नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन बिमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा एम्बुलेन्सको चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताउनुभयो। Dr.Sunil Sharma

कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्‍याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवा भावको प्रशंसा गरे।

२०७६ असोज ६ गते नेपाली कांग्रेस क्षेत्र नं.३ ले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा झापाको विर्तामोड–१० स्थित सैनिक बजारमा आयोजना गरेको कार्यक्रममा डा.शर्माले सो क्षेत्रलाई निःशुल्क एम्बुलेन्स प्रदान गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणा अनरुप एम्बुलेन्स प्रदान गरिएको हो। यो एम्बुलेन्सले अव सो क्षेत्रका बिरामीहरुलाई सहुलियत दरमा सेवा प्रदान गर्ने बताइएको छ। Ambulance-Pradan-photo

डा.शर्माले झापामा प्रदान गरेको यो दोस्रो एम्बुलेन्स हो। यसअघि उहाँले बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई पनि एम्बुलेन्स प्रदान गर्नुभएको थियो। समाजसेवाका क्षेत्रमा बेग्लै पहिचान बनाउनुभएका डा.शर्माले यसअघि पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णालीको बिकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गर्नुभएको छ।

यस्तै उहाँले मोरङको पथरीशनिश्चरे, इटहरा, सुन्दरहरैंचालगायत क्षेत्रमा पनि एम्बुलेन्स प्रदान गर्नुभएको छ। जसका कारण ग्रामिण क्षेत्रका बिरामीहरुलाई उपचारका लागि समयमै अस्पताल पुग्न निकै सहज भएको छ।