दुहवी/ सुनसरीको बर्जु गाउँपालिकामा जारी बर्जु महोत्सवको क्रममा मंगलबार कार्यक्रममा सहभागीले तोडफोड आगजनी गरेका छन्। भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि कार्यक्रममा सहभागीले तोडफोड र आगजनी गरेका हुन्।

यसैबीच आक्रोशित दर्शकले चारवटा भारतीय नम्बरको स्केर्पियो, एउटा सिटिसफारी र एउटा मोटरसाईकलमा आगजनी गरेका छन्। आगजनीबाट सबै सवारीसाधनको नम्बर पहिचान हुन सकेको छैन।

आक्रोशित दर्शकले कार्यक्रममा करिव ५सय वटा कुर्सी भाँच्नुका साथै कार्यक्रमस्थलको साउण्ड सिस्टममा पनि क्षती पुर्‍याएका छन्। प्रहरीले आक्रोशित भिड नियन्त्रण गर्न १५सेल अश्रुग्याँस प्रहार गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापाले पूर्वीखबरलाई बताउनुभयो।

आक्रोशित भिडले इलाका प्रहरी कार्यालय दुहवीको गाडीमा ढुंगा प्रहार गर्दा गाडीको अगाडीको सिसा फुटेको छ। आक्रोशित भिडको ढुंगा प्रहारबाट दुईजना प्रहरी सामान्य घाईते भएका प्रहरी उपरीक्षक थापाले बताउनुभयो।

कार्यक्रम आयोजकले भारतीय कलाकारयादव आउने भनेर ब्यापक प्रचारप्रसार गरेको थियो। पुर्वनिर्धारित कार्यक्रम अनुसार मंगलबार कलाकार यादव कार्यक्रमका लागि आउने कार्यक्रम थियो। कार्यक्रममा उनि नआएपछि उनको प्रतिक्षामा बसेकाहरुले स्टेजमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन्।

कार्यक्रमका लागि भेला भएका सर्वसाधारणले आयोजकले यादव आउने प्रचार गर्दै कार्यक्रमको टिकट बिक्रि गरेर ठगि गरेको भन्दै तोडफोड गरेका हुन्। बर्जु गाउँपालिका ६ चिमडीमा रहेको बर्जु ताल परिसरमा पुस २३ गतेदेखि शुरु भएको महोत्सवमा मंगलबार(आज) खेसारीलाल यादव आउने प्रचारप्रसार गरिएको थियो।

कोरोना भाईरसको तेश्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गतेदेखि नै महोत्सवमा रोक लगाए पनि सुनसरी प्रशासनलाई अटेर गर्दे सामाजिक बिकास केन्द्रको अगुवाईमा महोत्सव जारी थियो। खेसारीलाललाई हेर्न मंगलबार बिहानै देखि सर्वसाधारणको भिड लागेको थियो। कलाकार यादव नआएपछि सर्वसाधारण चिढिएका हुन्।

यादवको प्रस्तुति हेर्न नपाएपछि आक्रोशित दर्शकले स्टेजमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन्। बिहान ११ बजेदेखि नै यादवलाई हेर्न टिकट काटेर कुरेका सर्वसाधारण अपरान्ह ४ बजे सम्म पनि खेसारीलाल नआएपछि तोडफोडमा उत्रिएका हुन्।

तस्विर : सामाजिक सञ्जाल, समाचार श्रोत : इनरुवा अनलाईन