सुनसरी/ सुनसरीको इटहरीस्थित एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको जनचेतनामुलक कार्यक्रम अन्तरगत खनार ट्राफिक बिटले प्रेसर हर्न निषेध अभियान सञ्चालन गरेको छ। सडक क्षेत्रमा ध्वनी प्रदुषणले निम्त्याउने जोखिमलाई न्युनिकरण गर्ने उद्धेश्यले ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेको हो।

खनार ट्राफिक बिटका प्रहरी सहायक निरीक्षक(सई) अमर तामाङ नेतृत्वको टोलीले खना क्षेत्रमा अभियान चलाएको छ। सो क्रममा ट्राफिकसहितका प्रहरीले यात्रु बस तथा मालबाहक ट्रक रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराउन थालेका छन्।

यो नियमको पालना नगर्ने सवारी चालकले कानुन अनुसारको सजाय समेत भोग्नुपर्ने प्रहरीले जानकारी गराएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०५० को दफा १६४ ‘घ’–३ अनुसार ध्वनी प्रदुषण गरेवापत कारबाही गर्ने १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरिक्षक(असई) बिष्णु बस्नेतले बताउनुभयो।

ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन सवारी चालकलाई समेत आग्रह गर्ने गरेको छ।