बेलबारी/ शशस्त्र प्रहरी बल लक्ष्मीमार्ग मोरङ्गले अबैध उत्खनन्मा संलग्न तीनवटा गाडी नियन्त्रणमा लिएको छ। शशस्त्र प्रहरीले मोरङ्गको केराबारी ८ स्थित खदम खोलाबाट आईतबार साँझ ती गाडीहरु नियन्त्रणमा लिएको हो।

शशस्त्र प्रहरी बल लक्ष्मीमार्ग मोरङ्गका प्रमुख शशस्त्र प्रहरी निरिक्षक मान बहादुर कटवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ति गाडीहरु नियन्त्रणमा लिएको हो। प्रहरीले को १ क २३७५ नम्बरको जेसिभी, को १ ख ७३८० नम्बरको ट्रिपर र को २ त ७५१३ नम्बरको ट्याक्टर खदम खोलाको पूर्वी किनारामा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको शशस्त्र प्रहरी निरिक्षक मानबहादुर कटवालले पूर्वी खबरलाई जानकारी दिनुभयो। उहाँले शशस्त्र प्रहरीले आईतबार नियन्त्रणमा लिएका ति  गाडीहरु सोमबार कारबाहीका लागि जिल्ला समन्वय समिति मोरङ्गमा बुझाईने बताउनुभयो।

यसैबीच ईलाका प्रही कार्यालय केराबारीबाट करिब पाँच सय मिटर देखि एक किलोमिटरको दूरीमा रहेका खदम र हचुवा खोलामा ढुङ्गा गिट्टी बालुवाको अवैध चोरी निकासी भईरहँदा लक्ष्मीमार्गबाट गस्तिमा गएको सशस्त्र प्रहरी बलले चोरी निकासीमा संलग्नलाई नियन्त्रणमा लिन सफल हुने तर केराबारीकै प्रहरीले भने नियन्त्रणमा लिन नसक्नु रहस्यको बिषय भएको स्थानीयको भनाई छ।

रहस्यको बिषय भनेको अरु नभएर चोरी निकासीमा संलग्न र स्थानीय प्रहरीको सेटिङ्ग रहेको स्थानीयको ठम्याई छ। त्यसो त सब डिभिजन वन कार्यालय केराबारीको पनि कार्यक्षेत्र एवं क्षेत्राधिकार भएपनि कार्यालय पुरै रमिते भएर बस्ने गरेका कारण स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

सव डिभिजन बन कार्यालय सलकपुरले त झन केराबारीस्थित बन क्षेत्रको खदम खोलाबाट पुरै सेटिङ्ग गरेर ढुंगा गिट्टि चोराउने गरेको स्थानीयको भनाई छ। स्थानीयले पटक पटक बन कार्यालयको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गर्ने गरेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।