काठमाण्डाै / चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने भएको छ।

सरकारले नेपाल अहिलेसम्म कोरोनाबाट संक्रमित नभएको संदेश प्रवाह गर्नेदेखि, विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जानकारीसहितको विज्ञापन पनि प्रकाशन/प्रसारण गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले पर्यटनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेर कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा असर पर्न नदिन ५ बुँदे निर्देशन दिनुभएको छ। 

नेपाल कोरोना मुक्त क्षेत्र रहेको श्रब्यदृष्य प्रचार सामग्री अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा ३ दिनभित्र तयार गरेर व्यापक प्रचार-प्रसार गर्न मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ।

यस्ता सामग्री मन्त्रालय, विदेशमा रहेका कुटनीतिक नियोग, पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय लगायतका निकायका वेवसाइटमा राखिनेछ। 

यस्तै चीनले सामना गरिरहेको सामनाप्रति ऐक्यवद्धता जनाउँदै यो संकट समाधानमा चीनले सफलता पाउने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देश ७ दिनभित्र तयार पारेर चिनियाँ सञ्चारमाध्यम र चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गराउन मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ।

यस्तै वैकल्पिक बजार छानेर १२ स्थानमा डेस्क राख्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिनुभएको छ। प्रमुख पर्यटन बजारबाट सेलिब्रेटी, खेलाडी र सञ्चारकर्मीलाई नेपाल घुमाएर प्रचार गर्ने र नेपाल उडान गर्न चाहने विदेशी वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको छ।