काठमाण्डौ / राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै जिम्मेवारीमा प्रधानमन्त्री कप क्रिकेटको अधिकार पाएको नेपालय इन्टरनेशनल कम्पनीले प्रधानमन्त्री कपमा खेलाडीले पाउने पुरस्कारनै दिएको छैन। अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा राखेपले लोकप्रिय खेल क्रिकेटको टिकट वितरण गर्ने अधिकार फेरि त्यही नेपालयलाई दिएको छ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले साग तयारीबारे बिहिबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेटमा दर्शक टिकट विक्रिको अधिकार नेपालयलाई दिएको बताउनुभयो। सागमा दर्शकले ई–सेवा मार्फत बल खेमहरु फुटबल, क्रिकेट, भलिबल र बास्केटबलको टिकट किन्न सक्ने ब्यवस्था गरेको छ। अन्य खेलका लागि निशुल्क प्रवेशको ब्यवस्था छ। क्रिकेट बाहेक तीन खेलका टिकट भने इ–सेवा आफैले वितरण गर्नेछ। राखेपले इ–सेवालाई आठ प्रतिशत रुकम दिने बताइएको छ।

नेपालयको हकमा केही खुलाइएको छैन। क्रिकेट टिकट बिक्रिको अधिकार पाएको नेपालय खेलाडीको पुरस्कार रकमनै ठगी गर्ने कम्पनी हो। प्रधानमन्त्री कपमा सर्वोकृष्ट खेलाडीलाई मोटरसाईकल र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो। तर, प्रतियोगिता सकिएपछि नेपालयका सञ्चालक सुवास प्रधानले सर्वोकृष्ट खेलाडीलाई ५० हजार र विधागत तर्फका उत्कृष्टलाई जनही ३० हजार रुपैयाँ मात्र प्रदान गरेका थिए।

६ महिनाअघि प्रतियोगितामा सर्वोकृष्ट खेलाडी घोषित भएका ललित नारायण राजबंशीले पटक पटक आयोजकसँग पुरस्कार माग्दै आएका छन्। नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधानले खेलाडीको पुरस्कार अहिलेसम्म दिएका छैनन्। पुरस्कारको बिषयमा राखेपले बैठक बोलाएपनि उनी अनुपस्थित हुने गरेका छन्। सागमा पुरुष क्रिकेट टियु मैदान कीर्तिपुरमा हुँदैछ। जसमा दर्शकका लागि चरणमा दुई सय तथा सेमिफाइनल र फाइनलमा पाँच सय रुपैयाँ टिकट मूल्य राखिएको छ।