काठमाण्डाै / १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको हो। नेपालले पहिलो र तेस्रो सेटमा जित हात पार्दा बंगलादेशले दोस्रो, चौथो र पाँचौं सेटमा बाजी मारेको हो।

नेपालले दुवै सेट निकै प्रतिस्पर्धात्मक रुपमा पछि परेको थियो। पहिलो सेट २५-२० ले जितेको नेपालले दोस्रो सेट २५-२३ ले गुमाएको थियो। तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनाएको नेपाल चौथो सेटमा २६-२४ ले पछि परेपछि बंगलादेशले २-२ को बराबरी गर्न सफल भयो।

पाँचौं सेटमा बंगलादेशले भने १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो। नेपालले बंगलादेशसँग पराजित भएसँगै सेमिफाइनल पुग्न भने कठिन भएको छ।

अब नेपालले बलियो मानिएको भारतसँग खेल्नु पर्ने छ।

यसअघि बुधबार दिउँसाे भएकाे महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३-० काे साेझाे सेटमा हराएकाे थियाे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा नेपालले बंगलादेशलाई २५–९, २५–९ र २५–११ को सोझो सेटमा पराजित गरेकाे हाे। समूह ‘बी’ मा माल्दिभ्स र पाकिस्तानबीच हुने पर्ने महिलाकै अर्को लिगमा पाकिस्तान नआएपछि माल्दिभ्सले वाक ओभर पाएको छ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले रेफ्री संयोजक गौतम लासिवालाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गर्नु भएकाे थियाे। सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल मंसिर ११ गतेदेखि नै सुरु भएको हो।