काठमाण्डौ / विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम नेपाल आउने भएको छ।

इंग्ल्याण्डको यो क्लब नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सिरिज खेल्न नेपाल आउन लागेको हो। एमसीसीको टिम कात्तिक १६ गते नेपाल आईपुग्ने जनाइएको छ।

कात्तिक २६ सम्म नेपालमा रहने एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू–१९ टिमसँग सिरिज खेल्ने राष्ट्रिय टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए।

एमसीसीको टिमले यू–१९ टिमसँग टी–ट्वान्टी खेल्नेछ। यस्तै सिनियर टिमसँग एक दिवसीय र तीन दिवसीय खेल खेल्नेछ। त्यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ। त्यसपछि एमसीसीको टिमले पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ।