काठमाण्डौ / शनिबार (आज) 'स्वर-सम्राट' नारायणगोपाल गुरूवाचार्यको जन्म जयन्ती मनाइँदैछ। नेपाली सांगीतिक क्षेत्रमा पुर्याएकाे योगदानको सम्मानमा हरेक वर्ष उहाँको सम्झना गरिन्छ।  

बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा विक्रम संवत १९९६ असोज १८ गते काठमाण्डौको किलागलमा उहाँको जन्म भएको थियो। नारायण गोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराउनुभएकोे थियो। 

उहाँका 'यति धेरै माया दिइ', 'मलाई नसोध कहाँ दुख्छ घाउ', 'एउटा मान्छेको मायाले', 'अल्झेछ क्यारे पछ्यौरी', 'लालीगुराँस भएछु' लगायतका झण्डै पाँच सय गीत गीत रेकर्ड छन्। 

नारायण गोपालले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको सम्मान गर्दै २०२३ सालमा सर्वाेत्तम संगीतकार (रेडियो नेपाल), संवत २०२४ सालमा सर्वाेत्तम गायक (रेडियो नेपाल), २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार लगायतबाट सम्मानित हुनुहन्छ। 

उहाँकाे विक्रम संवत २०४७ मंसिर १९ गते वीर अस्पतालमा निधन भएको थियो।