मोरङको पथरीशनिश्चरेमा कला र साहित्यका क्षेत्रमा कृयाशिल एभरेष्ट आर्ट फ्यूजनले पुराना प्रसिद्ध चित्रकार गोपाल कलाप्रेमीलाई पुरस्कृत गर्ने भएको छ।

नगरपालिकाको आर्थिक ब्यवस्थापनमा चैत १३ देखि २६गतेसम्म हुने माटोबाट सजावटका सामग्री बनाउने निशुल्क सेरामिक तालिमको समापनका अवसरमा कलाप्रेमीलाई पुरस्कृत गर्ने बैठकले निर्णय गरेको अध्यक्ष टीकाराम राईले जानकारी दिनुभयो।

बिराटनगर घर भई लामो सयमदेखि चित्रकारितामा संलग्न कलाप्रेमीलाई फ्यूजनकी संस्थापक अध्यक्ष चित्रकार सरोजा खड्गीका पिता माता बिष्णुप्रसाद खड्गी र मीनादेवी खड्गीको सम्मानमा ‘बिष्णुमीना ललितकला पुरस्कार’ प्रदान गरिने भएको हो। पुरस्कारको राशी १० हजार नगद र ताम्रपत्र छ। यो बर्ष पहिलो पटक प्रदान हुने सो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने छ।

फ्यूजनले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर १ र २ का ३० जना महिलाका लागि सेरामिक तालिम दिई उनीहरुलाई व्यवसायिक बनाउने योजना रहेको संस्थापक अध्यक्ष खड्गीले बताउनुभयो। हाल रत्नचोकको मनोहर पार्कमा सिक्न इच्छुकहरु भेला भएर चक्रबाट दैनिक रुपमा अनौपचारिक रुपमा माटोका सामग्री बनाउन सिक्दै आएका छन्।