आईतबार ३० पौष २०७४ इटहरी न्युजडेस्क-
मोरङ्गको केराबारीमा मगर समुदायले माघे सक्रान्ती पर्व सामुहिक रुपमा मनाउने भएका छन। नेपाल मगर संघ केराबारी गाउँपालिका तसर्थ समितीले सामुहिक रुपमा सक्रान्ती मनाउन लागेको हो।

केराबारी गाउँपालिकाको वडा नम्बर ३ भोगटेनीमा भेला भएर यो पर्व मनाउन लागिएको नेपाल मगर संघ केराबारी गाउँपालिका तदर्थ समितीका अध्यक्ष पूर्ण प्रकाश पूर्वछाने मगरले पूर्वी खबरलाई जानकारी दिनुभयो।

कार्यक्रममा आफ्नो जातीय पोशाकमा भेला भएर गरिने सो कार्यक्रममा हुर्रा नृत्य प्रतियोगिता, मारुनी नाच, कौडा नाच प्रदर्शन गरिने अध्यक्ष मगरले जानकारी दिनुभयो।

कार्यक्रममा मगर जातीका मौलिक खानाहरु तरुल, रोटी, फिलुङ्गेको अचार, चटनी, मासु भात खुवाईने उहाँको भनाई छ। अध्यक्ष मगरले मगर जाती बीच भाईचारा बढाउन, जातीय एकता बढाउन तथा आफ्नो मौलिक सँस्कृती जर्गेनाको लागि कार्यक्रम गर्न लागिएको बताउनुभयो।

केराबारी गाउँपालिकामा बस्ने मगर समुदायले यस अघि घर घरमा मनाउँदै गरेको यो पर्व २०७२ सालमा केराबारी बजारमा पहिलो पटक, २०७३ सालमा डाँगी चोकमा दोश्रो पटक र तेश्रो पटक केराबारी ३ भोगटेनीमा मनाउन लागेको हो।