काठमाडौँ । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण देखिएको बताएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै लेबनानसँग टेरामक्सको उपकरण किन्ने निर्णय नै बदनियत पूर्ण रहेको बताएका हुन् । 

उनले लेबनान आफै समस्याग्रस्त देश भएको समेत बताए । उनले भने – एउटा समस्याग्रस्त देशले अर्को समस्याग्रस्त देशलाई कसरी सामान बेच्न सक्छ ? 

यस्तै उनले आजको छलफलमाथि नै प्रश्न उठाए । बैठकको मुख्य उद्देश्य नै स्पष्ट नभएको भन्दै सिंहले  दैनिक भत्ता पचाउने लक्ष्यसहित आयोजना गरिएको यस्ता बैठकबाट केही टुङ्गो नलाग्ने दाबी गरे । 

टेरामक्स खरिद प्रक्रियामा आर्थिक लेनदेन प्रक्रिया पारदर्शी नरहेको पनि उनले बताए । एनसेल खरिद प्रक्रियामा समेत अफसोर कम्पनीको संलग्नता देखिएको र यस्तो कम्पनीमार्फत कारोबार गर्न भ्रष्टहरूलाई सहज हुने समेत दाबी गरे ।