काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज (सोमबार) अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको छ । योसँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो । यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए । यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको छ ।

उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो । यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डा. र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो । कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उनको आदेश उच्च अदालत (पाटन) ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो । थुनामुक्त भएपछि राष्ट्रिय टोटीबाट सन्दीपले नियमित क्रिकेट खेल्दै आएका छन् ।