काठमाण्डौ / कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन्।

सरकारले खडा गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले १५ दिनबराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाका क्रमशः १७४ र ५० सांसद् छन्।

सचेतक चौधरीका अनुसार, यी सबै सांसद्को १५ दिनबराबरको पारिश्रमिक विशेष कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा जम्मा गरिनेछ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ। सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन्।

राष्ट्रपतिले दुई महिनाको र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक जम्मा गर्नुभएको छ।

कोष स्थापनासँगै एनआरएनए र उद्योगपति वसन्त चौधरीले एक–एक करोड सहयोगको घोषणा गर्नुभएको छ अन्य विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त भइरहेको छ।