बिराटनगर / संखुवासभाको धर्मदेवी नगरपालिका–७ मा आयोजना हुने ‘दोस्रो आङ्गवुरा कप’ सेभेन– ए साइड पुरुष फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

ग्रामीण क्षेत्रमा खेलकुदको विकास गराउने र आफ्नो ठाउँलाई फुटबलका माध्यमबाट चिनाउने उदेश्यले स्थानीय युवाहरुको सक्रियतामा यही पुस २५ गतेबाट प्रतियोगिता आयोजना हुँदैछ। न्यू युवा क्लबले आयोजना गर्ने प्रतियोगिता माघ १ गते सकिने छ। क्लबले आफ्नै प्रयासमा फुटबल आयोजना गर्दै आएको छ।

माघे संक्रान्तिको अवसरमा आयोजना गरिने प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको आयोजक क्लबका संयोजक प्रविन जिमीले बताउनुभयो। ‘हामीले ग्रामीण क्षेत्रमा फुटबलको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेका हौं,’ उहाँले भन्नुभयो, ‘यसलाई निरन्तरता दिइने छ।’

प्रतियोगितामा विजेता टिमले ५० हजार र उपविजेता टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने जानकारी जिमीले दिनुभयो। उहाँका अनुसार नकाउटका आधारमा खेलाइने प्रतियोगितामा १२ वटा टिमको सहभागिता हुनेछन्।

खेलमा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिनेछ।फाइनल प्रतियोगिताको अघिल्लो दिन पुस २९ गते मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने जानकारी जिमीले दिनुभयो।