एजेन्सी / मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ। मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ। त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ। मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ।

शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ। त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन्।

तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल (पेट) ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ। पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ।

त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, मधुमेह र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको दाबी गरेको छ।

पेटाले यस्तो दाबीलाई हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो।

बियरलाई अल्कोहल बेभरेज मानिन्छ। यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ। त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ।

बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ। मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ।

त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ। यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ।