काठमाण्डाै / अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार जना फुटबलरलाई निलम्बनका साथै ५० हजार जरिबाना लगाएको छ। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासन समितिले चारै जनालाई निलम्बन गरेको हो।

जसका कारण उनीहरुले आउँदाे ए डिभिजन लिग खेल्न नपाउने भएका छन। यसका साथै समितिले चारै जनालाई ५० हजार रुपैयाँ जरिबाना लगाएको छ। क्याम्पबाट झुटो बोलेर विमल घर्ती मगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङले नाइट क्लबमा रात बिताएका थिए।

प्रशिक्षक बालगोपाल महर्जनलाई भुटान जानका लागि पैसा साट्न र सामान लिन जाने भन्दै टिम बसेको होटेलबाट उनीहरु बाहिरिएका थिए। तर राति चारै जना खेलाडीले नाइट क्लबमा बिताएको खबर प्रशिक्षक योहान कालिनले थाहा पाएपछि उनीहरुलाई तत्काल टिमबाट हटाइएको थियो।

अब अनुशासन समितिले १६ नोभेम्बर देखि गरेको अनुसन्धानपछि उनीहरुलाई थप कारबाही गरेको हो। जसमा विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाइएको छ भने अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्धमा पारेको छ। जुन १३ डिसेम्बर अर्थात आजबाट लागु हुनेछ।

चारै जना खेलाडीलाई अनुशासन समितिले बयान लिनुका साथै उनीहरुको कागजपत्र पनि हेरेको थियो। त्यसैका आधारमा उनीहरुमाथि कारबाही गरिएकाे हो।

उनीहरु कारबाही अवधिभर कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन पाउने छैनन्। साथै उनीहरुले शनिबारबाट सुरु हुन लागेको लिग पनि गुमाउने भएका छन। अञ्जन यो सिजन मनाङबाट खेल्ने तयारीमा थिए। यस्तै दिनेश र सन्तोष विभागीय टिमबाट र विमलले गत सिजनदेखि च्यासलबाट खेलेका थिए।