काठमाण्डौ / १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको स्वर्ण बंगलादेशले जितेको छ। फाइनलमा श्रीलंकामाथि २ रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले स्वर्ण जित्यो।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनाएको थियो। बंगलादेशका ४ जना  खेलाडीले मात्र दोहोरो अंक जोड्न सके। जसमा निगार सुल्तानाले सर्वाधिक २९ रन बनाइन्। 

जवाफमा श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रनमात्र बनायो। श्रीलंकाका लागि कप्तान हर्षिता माधवीले ३२ तथा लिहिनी अप्सराले २५ रन बनाइन्। 

अन्तिम ओभरमा श्रीलंकाले सात रन बनाउन नसक्दा हार ब्यहोरेको हो। उसले २ विकेट गुमाउँदा ४ रन मात्र जोड्यो। नेपाली महिला टिमले यो प्रतियोगितामा कास्य जितेको छ।