काठमाण्डौ / १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश यू–२३ ले भुटानविरुद्ध १० विकेटेको जित निकालेको छ। 

लगातार दुई खेलमा जित हात पार्दै ४ अंकका साथ बंगलादेश तालिकाको दोस्रो स्थानमा छ। भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले ६ दशमलव ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो। 

बंगलादेशको जितमा सौम्य सरकारले अविजित ५० तथा मोहम्मद नइमले १६ रनको योगदान गरे।

पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ६९ रन बनाएको थियो। भुटानका तेन्जिङ वान्चुकले सर्वाधिक १५ रन जोड्दा जिग्मे सिंगेले १३ र जिग्मे दोर्जीले १२ रन बनाएका थिए। 

भुटानका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशका मनिक खानले २ विकेट लिए। 

यसैबीच शुक्रबार नै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा श्रीलंका यू २३ सँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरले पराजित गरेको थियो। 

शुक्रबारको खेलमा माल्दिभ्सविरुद्ध फराकिलो जित निकाल्न सके नेपालको पनि फाइनल प्रवेशको सम्भावना रहने छ।