एजेन्सी / गत आइतबार एक भारतीय सेनाका जवानले गुडिरहेको कारभित्र आफ्नी श्रीमती र सालीलाई गोली हानी हत्या गरेर आफैंलाई पनि गोली हानेको खबर सार्वजनिक भएको थियो। अब यो घटनाबारे नयाँ खुलासा भएको छ।

जानकारीका अनुसार विष्णु शर्मालाई ससुरालीमा बस्ने बेला लामखुट्टेले टोकेको र त्यसैका कारण उनलाई डेंगु लागेको हुनसक्ने शंका गरेका थिए। जब उनले कारभित्र यस विषयमा चर्चा गरे तब श्रीमती र उनकी सालीले विरोध गरे। तत्पश्चात् उनलाई रिस उठेको र गुडिरहेको कारभित्रै दुबैजनालाई गोली हानेको खबर भारतीय मिडिया आजतकले लेखेको छ।

स्रोतका अनुसार गत नोभेम्बर २२ तारिखमा विष्णु शर्माकी साली डिम्पलको विवाह थियो जसका कारण उनी ससुराली गएका थिए। तर त्यति नै बेला उनलाई डेंगु भयो जसका कारण उनको मानसिक स्थिती बिग्रियो। परिवारका सदस्य आइतबार पटना एम्समा उनलाई उपचारका लागि लैजादैं थिए त्यति नै बेला सो घटना भएको हो।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरले दिएको जानकारी अनुसार गाडीभित्र विष्णुले ससुरालीको लामखुट्टेले टोकेका कारण उनलाई डेंगु भएको बताएपछि उनकी श्रीमती र सालीले उनको विरोध गरे। यसै कुरामा रिसाएर उनले आफ्नो लाइसेन्सयुक्त बन्दुकबाट गोली चलाउन सुरु गरे। मिथलेशले अगाडि बसेका उनका दुई सन्तानलाई स्थानीयको सहयोगमा बचाउन सफल भए।

जानकारीका अनुसार विष्णु शर्मा सुरुदेखि नै मानसिक रुपमा उग्र थिए जसका कारण उनी थुप्रै पटक जेलसमेत जानु परेको थियो। उनी थुप्रै पटक कि त पुलिससँग वा अन्य व्यक्तिसँग झगडा गरिरहेको पाइन्थे। उनको मानसिक रोगका कारण परिवार तनावमा थिये र उनको उपचारका लागि पटना लैजादैं थिए। सुरुमा उनले आफ्नी साली डिम्पल र त्यसपछि श्रीमती दमिनीलाई गोली हानेर आफूमाथि पनि गोली चलाएर आत्महत्या गरे।