काठमाण्डौ / दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली महिला क्रिकेट टिम पोखरा प्रस्थान गरेको छ।झण्डै तीन महिना काठमाण्डौमा प्रशिक्षण गरेको महिला क्रिकेट टिम बुधबार प्रतियोगिताका लागि पोखरा प्रस्थान गरेको हो।

पोखरामा महिला टिमले केही दिन प्रशिक्षण गरेर प्रतियोगिता खेल्नेछ। जम्मा चार टिमको सहभागिता रहने प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले पदकको आशा गरेको छ। नेपाली महिला टिमलाई काठमाण्डौ इन होटेलले ट्रयाकसुट सहयोग गरेको छ।

पोखरा जाने क्रममा बिदाइ गर्दै होटेलले सबै खेलाडीलाई एक एक थान ट्रयाकसुट दिएको हो। झण्डै एक लाख ४० हजार बराबरको खेल सामग्री दिएको होटेलले २४ थान ट्रयाकसुट हस्तान्तरण गरेको हो। जसमा १८ जना खेलाडी, चार जना प्रशिक्षक र दुई जना फिजिओलाई ट्रयाकसुट दिइएको हो। 

महिला क्रिकेट टिमले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ। यस पटकको सागमा महिला क्रिकेटमा श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपालको सहभागिता रहेको छ।