काठमाण्डौ / विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एसियन फुटबल महासंघले एन्फाको प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको हो।

मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो।

योसँगै एन्फाले आफ्नो होम खेल (घरेलु मैदानमा) खेल्न पाउने खेल न्युट्रल भेन्यु (तेस्रो रंगशाला)मा खेल्नु पर्ने भएको थियो। एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो।

कुबेतले यो प्रस्तावलाई अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो। एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै खेल हुन लागेको हो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।