इटहरी / कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को छायाङ्कन पूरा भएको छ। करिब १ महिना लामो छायाङ्कन पश्चात् एक गीत बाँकी राख्दै शुक्रबार चलचित्रको सुटिङ प्याकअप गरिएको हो।

गीतको छायाङ्कन केही समयपछि हुने चलचित्रका कलाकार सीतारामले जानकारी दिनुभयो। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय छ।

‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस–सुन्तली’ चलचित्र निर्माणमा होमिएका हुन्। उनीहरूको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ।

यो चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ। चलचित्र २ करोड रुपैयाँको लागतमा बनेको हो।