काठमाण्डौ‌ / मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाण्डौ देखिएको छ। प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो।

विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाण्डौमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन्। राजधानीपछि पूर्वी नेपालको विराटनगर सबैभन्दा बढी अपराध हुने जिल्लामा पर्ने देखिएको छ। तथ्यांक अनुसार यो आर्थिक वर्षमा एक हजार ८ सय ८८ वटा मुद्दा दर्ता भएको देखिएको छ।

मोरङपछि रूपन्देहीमा मुद्दा दर्ता संख्या बढी छ। प्रहरीका अनुसार यो आर्थिक वर्षमा रूपन्देहीमा एक हजार ८ सय ३५ मुद्दा दर्ता भएको देखिएको छ भने रूपन्देहीपछि सुनसरीमा १ हजार ७ सय ८३ मुद्दा दर्ता भएको देखिन्छ।

सुनसरीपछि झापामा १ हजार ४ सय ३३ मुद्दा दर्ता भएको देखिन्छ भने कास्कीमा १ हजार २ सय ७७, कैलाली १ हजार २ सय ३५, चितवनमा एक हजार १ सय ७८, धनुषा १ हजार १ सय ८७ र बाँकेमा १ हजार १ सय ५८ वटा मुद्दा दर्ता भएको छ।