एजेन्सी / दाद- त्यो फुस्रो, अत्ति चिलाउने अनि अप्ठ्यारो ठाउँमा देखा पर्ने छालाको सङ्क्रमण हो, जुन ‘फङ्गस’ (Fungus) को कारण आउँदछ। फङ्गस, जसलाई ‘ढुसी’ पनि भनिन्छ, यस्तो जीवाणु हो जसले जीवित तथा अजीव वस्तुको शरीरलाई सङ्क्रमण गरेर नष्ट गराइदिन्छ।

दादले अधिकांश व्यक्तिहरूलाई सताइरहेको हुन्छ र कति औषधी उपचार गर्दा पनि यसबाट मुक्ति पाउन सकिराखेका हुँदैनन्। दाद एक सरुवा रोग हो र यो सङ्क्रमित व्यक्ति अथवा जनावरसँगको लसपसबाट सर्दछ। केवल छालाको स्पर्शबाट मात्र नभएर यो रोग साझा कपडाको प्रयोग र जुठो खानाबाट पनि सर्दछ।

साधारणतया, दाद चिलाउने खालको हुन्छ र छालामा गोलो, रातो अनि फुस्रो दाग देखा पर्दछ। विशेष गरी, गुप्ताङ्ग (योनी, काखी, पुठो), घुच्चुक, औँलाको काँपा जस्ता ओसिलो तर न्यानो ठाउँमा दाद आउने गर्दछ। दादको कारण दाद (Ringworm) कुनै ब्याक्टेरियाको कारणबाट आउँदैन, यो त ढुसी (Fungus) को सङ्क्रमणबाट आउने रोग हो।

छालाको दाद (Tinea corporis) सामान्यतया Trichophyton rubrum नामक फङ्गसको सङ्क्रमणको कारण आउने गर्दछ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। अर्को हुन्छ, Microsporum canis फङ्गस, जुन कुकुर र बिरालोबाट सर्ने गर्दछ।

कस्तो व्यक्तिलाई दाद आउने गर्दछ ?

त्यस्ता व्यक्तिहरूलाई दादको सङ्क्रमणले सताउन सक्छ, जो दादबाट सङ्क्रमित व्यक्तिसँग लसपस गर्छ, उसको जुठो खान्छ, उसले प्रयोग गर्ने लत्ताकपडाको प्रयोग गर्छ। जसको प्रतिरक्षा प्रणाली कमजोर छ र जसलाई मधुमेह अथवा क्यान्सर छ। जो न्यानो र ओसिलो वातावरणमा बसोबास गर्छ। जसले कसिलो लुगा लगाउँछ, अथवा जो धेरैबेर सम्म चिसो लुगाएर बस्छ। जस्तै, व्यायाम गर्दा पसिनाले भिजेको लुगा धेरैबेरसम्म लगाइराख्दा पनि दाद आउन सक्ने सम्भावना बढि हुन्छ।

दादबाट सङ्क्रमित व्यक्तिले ख्याल गर्नुपर्ने कुराहरू:

आफ्नो छालालाई सँधै सफा र सुक्खा राख्नुपर्दछ। धेरैदिनसम्म एउटै मोजा, अन्डरवेयर, गञ्जी लगाइराख्नुहुँदैन। कसिलो लुगा लगाउनुहुँदैन। दाद आएको भागमा हावा छिर्ने गरी लुगा लगाउनुपर्दछ।

नुहाइसकेपछि पुरै शरीरलाई राम्रोसँग पुछ्नुपर्दछ। काखी, गुप्ताङ्ग, औँलाका काँपा, कान र घाँटीमा भएको पानीलाई पनि राम्रोसँग पुछ्नुपर्दछ। सफा कपडाले पुछ्ने बित्तीकै कहिल्यै पनि कपडा लगाइहाल्नुहुँदैन। पहिला हावाले सुक्न दिनुपर्छ अनि बल्ल सफा, खुकुलो लुगा लगाउनुपर्दछ। अरू कसैसँग आफ्नो व्यक्तिगत लत्ताकपडा, तौलिया, जुत्ता वा रुमाल सेयर गर्नुहुँदैन।

लुगा धुँदा तातो पानी र एण्टिफङ्गस साबुनको प्रयोग गर्नुपर्दछ। यदि घरमा कुकुर तथा बिरालो जस्ता घरपालुवा जनावर छ र त्यसको शरीरबाट सामान्यभन्दा धेरै कपालका रौँहरू झरेको छ भने तयसलाई तुरुन्तै पशुडाक्टरकहाँ जाँच गर्न लगिहाल्नुपर्दछ।

दादको लागि घरेलु रोकथामका उपायहरू सरुवा रोग र खतरनाक सङ्क्रमण भएकै कारणले दादलाई निको पार्न मुश्किल पर्दछ र समय लाग्न सक्दछ। यसलाई निको पार्ने मेडिकल क्रिम तथा अन्य औषधीहरू पनि पाइन्छन्, जुन डाक्टरको परामर्श बिनानै अपनाउन सकिन्छ। तर कुनै पनि रसायनिक औषधी अपनाउनुभन्दा पहिले घरेलु उपाय नै अपनाउनु उचित हुन्छ। किनभने त्यस्ता रसायनिक औषधीले शरीरको प्रतिरक्षा प्रणालीलाई दादविरुद्ध कमजोर बनाइदिन्छ र पछि झन्-झन् शक्तिशाली औषधीको प्रयोग गर्नुपर्ने हुन्छ। फेरि त्यस्ता औषधीहरूको अधिकांश साइडइफेक्ट हुने गर्दछ, जसले उल्टो पीडामात्र थप्ने काम गर्दछ।

त्यसैले सुरुमा घरेलु उपाय नै अपनाउनु जाति हुन्छ। जिद्दी दादको लागि घरेलु रोकथामका केहि उपायहरू यस्ता छन्:-

१. लसुन : लसुनमा पाइने प्राकृतिक रसायनिक पदार्थ ‘एलिसिन’ र ‘अज्वाइन’को एण्टिब्याक्टेरियल तथा एण्टिफङ्गल गुण दादा जस्ता छालाको सङ्क्रमणको लागि अचुक शुत्र हुन आउँछ। त्यसैले;

२/३ वटा ताजा, नकुहिएको लसुनको पोटी लिनुहोस् र त्यसलाई मसिनो गरी पिसेर लेदो बनाउनुहोस्। त्यस लेदोमा जैतूनको तेल मिसाउँदा अझ काइदा हुन्छ। अब दादलाई मनतातो पानीले सफा गर्नुहोस् र नरम सफा कपडाले पुछेपछि लसुनको लेदो बाक्लो गरी लेप्नुहोस्। धेरैमा २ घण्टासम्म त्यत्तिकै राखिसकेपछि त्यसलाई फेरि मनतातो पानीले सफा गर्नुहोस्। ध्यान रहोस् कि २ घण्टाभन्दा बढि राख्नाले त्यसले उल्टो असर गर्न सक्छ र दादलाई पकाउन पनि सक्छ।

२. काँचो बेसार : सुकेको बेसार होइन, धूलो बेसार होइन, केवल काँचो र ताजा बेसारको बाक्लो जुस बनाउनुहोस् र दादमा लेप्नुहोस्। यसको एण्टिबायोटिक गुण ढुसीको सङ्क्रमणको लागि उत्तम हुन्छ। २ घण्टासम्म काँचो बेसारको लेप लगाइसकेपछि मनतातो पानीले सफा गर्नुहोस्।

३. भिनेगर र नुन : भिनेगर र नुनको बाक्लो लेदो बनाउनुहोस् र त्यसलाई दाद आएको ठाउँमा लगाउनुहोस्। ५ मिनेटपछि मनतातो पानीले सफा गर्नुहोस्। दिनमा २ पटकसम्म यस्तो गर्नाले कम्तीमा १ हप्ता र बढिमा २ हप्तापछि दादको दाग बिस्तारै घट्दै जान थाल्दछ।

हुन त दादको लागि घरेलु उपायहरू थुप्रै हुन्छन्, तर सबैभन्दा उत्तम उपाय भनेकै यीनै हुन्। तर सबैको शरीर फरक-फरक हुन्छ, त्यसैले कसैलाई यी उपायले काम नगर्न पनि सक्छ। यदि त्यस्तो अवस्थाको सिर्जना भएमा ढिलासुस्ती नगरी तुरुन्तै अस्पताल गएर चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ। अर्को कुरा भनेको, यदि तपाईँलाई लसुन, बेसार र नुनको एलर्जी छ भने पनि माथिमा यी उपायहरू नअपनाउनु बेस हुन्छ। त्यस्तो बेलामा सुरुमा चिकित्सकसँग जाँच्नुहोस् र दादको प्रकृति हेरेर चिकित्सकको सल्लाहबमोजिम उचित उपचारको बाटो अपनाउनुहोस्।