बिराटनगर / नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ। अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो।

सुरुवातमा तीनजना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिनुभयो। ‘पहिलो चरणमा तीनजनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी गयौ।’ डा.नेपालले भन्नुभयोे ‘सवै जना निको भएर घर फर्किसक्नुभयो। अब नियमित सेवा सुरु गरेका छौ।’

Cardic-Surgery-ICU-1 शरिरको महत्वपूर्ण अंग हो मुटु। त्यसैले मुटुको अप्रेशनलाई जटिल मानिन्छ। मुटुमा सामान्य समस्या हुँदा अन्य बिधिबाट उपचार गरिन्छ। तर, मुटुको गंभिर समस्या भएकाहरुलाई ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर मुटुको शल्यक्रिया गर्नुपर्छ। जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्नुपर्ने नोबेलका डा.प्रमान शर्माले बताउनुभयो।

जटिल शल्यक्रिया भएकाले नेपालका केहि अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ। नोबेलले मुटुको शल्यक्रिया थालेपछि पूर्वी नेपालका बिरामीहरु बढी लाभान्वित भएका छन्। नोबेलमा ओपन हार्ट सर्जरी गराएकी मोरङ केरावारीकी सिर्जना घिमिरेले आफ्नै जिल्लामा जटिल अप्रेशन गराउँन पाउँदा ९ बर्षदेखिको पीडाबाट मुक्ती मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो।

Openheart-Surgery-Photo यता, झापा मेचिनगरकी ६४ बर्षीया घाँसीमाया घिमिरेको मुटुको सफल शल्यक्रियापछि उहाँका भाई तुलसी थापाले पनि धेरै सहज भएको प्रतिक्रिया दिनुभयो। ‘पहिले काठमाण्डौ, भारत लगायत टाढा–टाढा जानुपथ्यो, अहिले आफ्नै ठाउँमा यस्तो मेजर अप्रेशन हुँदा धेरै सजिलो भयो’ उहाँले भन्नुभयो। नोबेललाई ओपन हार्ट सर्जरीमा गंगालाल अस्पतालले प्राबिधिक सहयोग गर्ने गरेको छ।

२०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गर्‍यो। मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको छ।

Openheart-Surgery-Photo-3 सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको नोबेलले सेवा बिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा प्रदान गर्दै आएको छ। ओपन हार्ट सर्जरी सुरु भएपछि अव मुटु रोगको सवै किसिमका उपचारमा नोबेल सक्षम भएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ। न्यूरो र कार्डियो सेवालाई प्राथमिकता दिएको नोबेलले सवै किसिमको उपचारमा अत्याधुनिक उपकरण र बिशेषज्ञ डाक्टरको व्यवस्थापन मिलाएर स्तरीय उपचारका क्षेत्रमा फड्को मार्दै गएको छ।

हेर्नुहोेस् भिडियो :