काठमाण्डौ / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने नछुट्याइएको स्पष्ट पार्नुभयो।

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको बताउनुभयो। उहाँले आइफा नेपालमा भर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गर्नुभयो।

सञ्चारकर्मी र सञ्चारकर्मीको कडा आलोचना गर्दै उहाँले पत्रकारहरुमाथि भरोसा हुन छाडेको बताउनुभयो। ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो। आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उहाँले भन्नुभयो, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन।’

उहाँले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव समेत दिनुभयो। सरकारले जे गरेपनि खाली आलोचना मात्रै हुने गरेको गुनासो गर्दै उहाँले कांग्रेसलाई रुखको टुप्पोमा बसेर जरो हल्लाएँ भन्ने भ्रममा नपर्न सुझाव दिनुभयो।

उहाँले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने भन्दै नचलाए सरकारले ताला लगाउने पनि चेतावनी दिनुभयो। यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गर्नुभयो।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, पूर्वअध्यक्ष यादव खरेल, शम्भुजित बाँस्कोटा, कृष्ण मल्ल, विकास बोर्डका सदस्य दयाराम दाहाल, विजय देउवालगायतको सहभागीता रहेको थियो भने सो क्रममा बोर्डका कर्मचारीका साथै अभिनेता भुवन केसी शिव श्रेष्ठ, अभिनेत्री भुवन चन्दलगायत वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो।