बैतडी / बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ। हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो।  

भारतको पिथौरागढ जिल्लाको बृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ। जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जंगलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ। 

चन्द भारतमा मजदूरी गर्दै आउनुभएको थियो। हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ। मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए। टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जंगलमा लगेर गाडेको निजले प्रहरीसँग दिएको बयानमा बताएका थिए। 

मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ। घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दूरीमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।