म रमाउन सक्दिन त्यहाँ,
किन थाहा छ आमा तपाईंलाई?
प्रश्न सोध्ने मेरो जिब्रो लुछिन्छ ,
न मैले गरेका कामको नै सही मूल्याङ्कन नै हुन्छ,
न मेरो भावना बुझेर व्यवहार गरिन्छ,
एकै छिन जबर्जस्त रमाइलो पोख्न खोज्दा ,
स्टाफ रूममा खाएको त्यो नमिठो चड्कन ताजै छ,
घरका हजार काम भ्याएर ५ मिनेट ढिलो हुँदा चौरमा उभिएर भाटा खाएको ताजै छ,
हो सकिन मैले बुझ्न आमा,
बुझिन भन्दा खाइने भाटा सम्झेर मौन छु म,
बाख्राको खोर भन्दा रापिलो कोठामा खलखल पसिना चुहाउँदै,
धेरै सिंहहरूको अगाडि एउटा निरीह प्राणी जस्तो लाचार भएर,
लुछाइ सहन आएको छु,
कसैको गर्जो टारिदिन आएको छु,
कसैको भविष्य बनिदिन आएको छु,
कसैको जबर्जस्त निरन्तर समय बनिदिएको छु,
आउनु केवल बाध्यता बनेको छ,
यहाँ आउनु भनेको यातना गृहमा आउनु भएको छ,
यहाँ जहाँ सास फेर्न अफ्ठ्यारो छ आमा,
त्यसैले म यो घेरामा भन्दा बाहिर नै उन्मुक्त भएर सास फेर्छु,
त्यसैले त दिनदिनै म ड्रप आउट हुँदै छु,
तर आमा दोष त तपाईं र मलाई लगाउँदै छन है तिनीहरूले।

- केराबारी १०मोरङ्ग