मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ। 

मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहनुभएको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। 

नेपाली मु्क्तकको विकास र लेखनका लागि महत्वपूर्ण योगदानको उच्च कदर गर्दै प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि रु २२ हजार २२२, ताम्रपत्र र दोसल्ला रहेको छ। 

कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका तीन दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक संग्रह हो, उहाँका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ती मुक्तक संग्रह प्रकाशित छन् भने पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो। 

सो पुरस्कारबाट यसअघि कृष्णप्रसाद पराजुली र रत्नशम्शेर थापा सम्मानित भइसक्नुभएको छ । मञ्चद्वारा चैत २२ देखि २४ गतेसम्म पोखरामा आयोजना गरिने मुक्तक महोत्सव २०७४ अवसरमा पुरस्कार अर्पण गरिने आर्थिक उपसमिति संयोजक गौरी तमुले बताउनुभयो। 

सो महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक संग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका ४० भन्दा बढी मुक्तककारका मुक्तक वाचन गरिने भएको छ।