आईतबार ३० पौष २०७४ केराबारी युवराज ठकुरी –
मोरङ केराबारी गाउँपालिका २,सिंहदेवी र चौविसे गाउँपालिका ८,बसन्तटारको सिमानामा अवस्थित पर्यटकीय केन्द्र जेफालेमा शुभकामना आदानप्रदान तथा सिर्जना बाचन कार्यक्रम भएको छ। स्थानीय जेफाले भ्यु टावरमा शनिबार कक्फेक्वा तङ्नाम अर्थात माघे सक्रान्तिको अवसरमा कार्यक्रम गरिएको हो।

उत्तरी मोरङ साहित्य मञ्चले गरेको कार्यक्रममा जेफालेको चिसो मौसममा कवि तथा गजलकार शुक्र आङ्दम्बे यसरी “माघे सक्रान्ति“ (कक्फेवा तङ्नाम) शीर्षकमा प्रेमिका र माघे सक्रान्तिलाई आफ्नो कविता मार्फत सम्झिरहेका थिए।

पर्यटकीय केन्द्रको रुपमा बिकास हुँदै गरेको जेफालेको चिसो मौसमको पर्वाह नगरी पहिलो पटक जेफाले भ्यु टावरमै पुगेर पहिलो पटक एक दर्जन स्रष्टाहरुले सिर्जना कविता र गजल मार्फत प्रस्तुत गरेका थिए।

मंचका अध्यक्ष कवि सन्देश तुम्बापोको सभापतित्व र कवि कविन्द्र तुम्बापोको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार एवं गजलकार युवराज ठकुरी अज्ञानी, कविहरु शुक्र आङ्देम्बे,सानू लिम्बू, हृदय थेगिम, गजलकार राजेश लिम्बू, कल्याणकारी माविका शिक्षक राम बस्नेत, लक्ष्मी आधारभुत बिद्यालयका कमल ठकुरी, स्वास्थ्य चौकी सिंहदेवीका पुकार राउतलगायतले माघे सक्रान्तिको शुभकामना व्यक्त गर्दै गजल र कविता बाचन गरेका मञ्चका कविन्द्र तुम्बापोले बताउनुभयो।

साहित्य र आन्तरिक पर्यटनलाई स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम जेफाले भ्यु टावरमा गरिएको सस्थाका उपाध्यक्ष राजेश किराँतीले बताउनुभयो। जेफालेको फेदी बिहिबारेमा नयाँ वर्ष २०७४ को अवसरमा गजल र लोकगीत प्रतियोगिता भईसकेपनि जेफालेको टुप्पोमा यस्तो कार्यक्रम पहिलो पटक भएको शिक्षक कमल ठकुरीले जानकारी दिनुभयो।

आङ्दम्बेको कविता अंश :-
कति दुख गर्छौ प्रिया भो अब भित्र जाउ
मेरो मायाले चोखिएर निधारमा प्रेमिल टीका लगाउ,
आज त तरुल खाने पर्व हो नि प्रिया
जतन गरेर तिम्रै लागि भनेर एक ठुन्का तरुल ल्याएको छु।