इटहरी / इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले चार विधामा वर्षभरी निरन्तर उत्कृष्ट रहेका विद्यार्थीलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरूलाई सम्मान गरेको हो ।

शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेनसमेत हुन् ।

त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट विद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन्। विद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वाचित भाइस क्याप्टेन समेत भएका थिए।

उक्त सम्मानका लागि विद्यालयले विद्यार्थीमा अनुशासन, शैक्षिक तथा भाषागत उत्कृष्टता, नेतृत्व क्षमता, सामूहिक सहाकार्य र अतिरिक्त क्रियाकलापमा सहभागिताका आधार तयार पारेको थियो ।

त्यसैगरी, वर्षभरी नै हरेक गतिविधि विद्यालयमा भएका गतिविधिहरूमा सक्रिय सहभागी भएर उत्कृष्ट हुनेमा प्रिन्सा घिमिरे क्याप्टेन रहेको ‘ब्लु हाउस’ले उत्कृष्ट हाउसको सम्मान पाउन सफल भएको छ । विद्यालयमा रहेका ६ वटा हाउसहरूमध्ये ‘ब्लु हाउस’ उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।

विद्यालयका चारसय भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए । विद्यालयले नियमित रूपमा विद्यार्थीलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतिहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ ।

प्रअ पौडेलका अनुसार विद्यालयले एक सय हप्ता अघिदेखि प्रत्येक शुक्रबार स्वैच्छिक रूपमा आ–आफ्ना सांस्कृतिक पोसाक लगाउन उत्प्रेरित गरिरहेको छ ।

विद्यार्थीको क्षमता अभिवृद्धि र सामाजिक अन्तरघुलन र सामाजिक दायित्व निर्वाहका लागि रेडक्रस, स्काउटका क्रियाकलापसँगै बाल क्लबमार्फत सामाजिक क्रियाकलाप र क्षमता अभिवृद्धिका लागिसमेत कार्यक्रमहरू गर्दै आएको विद्यालयले जनाएको छ।