काठमाण्डौ/ भक्तपुर नगरपालिका ८को वडा कार्यालय नजिकै मृत फेला परेका तेह्रथुमको छथर गाउँपालिका–२का गोपाल ढकालको हत्या भएको खुलेको छ। 

तेह्रथुमको छथर–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्दै आएका ३३ बर्षीय ढकाल भक्तपुरस्थित डेराबाट सम्पर्कबिहिन भएका थिए। शरीरका बिभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य रहेको ढकालको शव भक्तपुर ८का रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको थियो। 

फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न निस्किएका ढकाल घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएका थिए। ढकाल मृत फेला परेपछि अपराध अनुसन्धान बिभाग र नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान गरिएको थियो।

भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा श्रीमतीसँग बस्दै आएका ढकाल गत बर्षको चैत महिनामा मलेसियाबाट फर्केका र युरोपियन मुलुक जान तयारी गरिरहेका थिए। 

फागुन ९ गते राति ८ बजे तिर तेल किन्न भन्दै कोठाबाट निस्किएका ढकालको त्यही दिन राति हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घरबाट निस्किएका ढकाल कोठा नजिकैको एउटा पसलमा पुगेको देखिएको र त्यहाँ पुग्दा अन्य तीन जना व्यक्तिसँग भेट भएको र ती तीन जनामध्ये एकजना हत्याको मुख्य व्यक्ति रहेको र त्यो ब्यक्ति फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरी बृत्त जगातीले अन्य दुई जना(एकजना केटा र एकजना केटी)लाई पक्राउ गरी हिरासतमा राखेको र ती दुई नजिकैको पाटीमा बस्ने, मागिखाने व्यक्ति रहेको  बुझिएको छ।

प्रहरी अनुसन्धानको क्रममा पसैल नजिकैको सिसिटिभी पुटेजमा त्यो पसलमा भेट भएपछि खानपिन भएको देखिएको र त्यसपछि ती दुई व्यक्ति छुट्टिएको र गोठ भएतिर ढकाल र ती मुख्य योजनाकार भनिएका ब्यक्ती गएको देखिएको छ। पक्राउ परेका दुई जनाको नाम प्रहरीले नखुलाएको र घटनामा उनीहरुको के कस्तो भूमिका रहेको हो सो बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

प्रहरीले योजनाकार भनेका ब्यक्तिसँग मोबाइल नभएको देखिएको र घटना आकस्मिक नभएर योजनाबद्ध हो भन्ने केही ‘क्लु’ पनि फेला परेको भन्दै प्रहरीले तीन जना छुट्टिएपछि योजनाकार भनिएका ब्यक्तिले ढकालकै मोबाइलबाट ढकालकी श्रीमतीलाई फोन गरेर राति नै दुई लाख रुपैयाँ ठिक पार्नू, नत्र मारिदिन्छु भनेको प्रहरीले जनाएको छ। फोन लगत्तै ढकालको फोन अफ भएको अनि घरपरिवारमा बेचैनी भएर दौडिरहेकै बेला र खोजीको प्रयास हुन नपाउँदै हत्या भएको प्रहरीले जनाएको छ।

गोठमा पुगेपछि इँटा र ढुंगाले टाउको, अनुहारलगायत शरीरका बिभिन्न भागमा हिर्काएर हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ। योजनाकार भनिएका ब्यक्ति एक्लैले हत्या गरे या त्यहाँ अरु कोही सहयोगी पनि थिए भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। योजनाकारको पहिचान भइसकेको अनि अफ गरेर ढकालको मोबाइलसमेत उसैले लगेको अनि सो ब्यक्ति पक्राउ पर्न मात्रै बाँकी रहेको र अन्य सबै कुराहरू पत्ता लागिसकेको र त्यो ब्यक्ति पक्राउ परेपछि घटनामा अन्य कति जनाको संलग्नता हो खुल्ने प्रहरीले जनाएको  भनेर नवपथ अनलाईनले समाचार लेखेको छ।