एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजायको फैसला गरेको हो ।

बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खान जोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ ।

मुस्लिम कानुन अनुसार महिलाले श्रीमानको निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनाइसकेको छ ।

यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्दामा तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्व प्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।