गितकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को बिमोचन गरिएको छ। काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार उपन्यासको बिमोचन गरिएको हो।

कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथा पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बाले संयुक्त रुपमा “लाहुरेनी फुल”को बिमोचन गरेका हुन। समाज भित्रको यथार्थलाई साहित्यको माध्यमबाट शसक्तरुपमा उठाउँदै आउनुभएकी रुपाबुङले थुप्रै किसिमका कविता, लेख, रचना, गित समेत लेखिसक्नुभएको छ। मोडलिङ समेत गर्ने सुष्माको यो उपन्यास “लाहुरेनी फुल” पहिलो प्रकाशित कृति हो।

लाहुरे संस्कृतिबारे लेखिएको उपन्यासमा सरल शब्द संयोजन र शैलीले पाठकको मन छुने कवि मुकारुङले बताउनुभयो। उपन्यासमा नयाँपनको आभाष पाइने कवि गुरागाईले बताउनुभएको छ। नेपाली समाजमा लाहुरेको बास्तविक अवस्था उपन्यासमा झल्कने भन्दै आँफुले एकै बसाईमा पढिसकेको अभिनेत्री सिर्जना सुब्बाले बताउनुभयो।

लाहुरे संस्कुती र त्यसको प्रभाव लेख्ने कोसिस गरेको बताउदै रुपाबुङले साहित्यिक यात्रा भनेको परिकल्पनाको संसार रहेको र साहित्यकारले परिकल्पना भित्र सुनौलो संसार बसाउन सक्ने तर आँफु अझै योग्य बन्न नसकेको बताउनुभयो।

साहित्य सृजनामा सधै हौसला दिइरहने श्रीमान, घरपरिवार साथै शुभेच्छुकहरुको सहयोगले “लाहुरेनी फुल” फुलाउन सफल भएको उहाँले बताउनुभयो। फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास बिमोचन कार्यक्रममा कवि तथा साहित्यकारहरुको उल्लेख्य उपस्थिती थियो।