केराबारी/ मोरङको केराबारी ६ तामाङ टोलमा नेपाल बिद्युत प्राधिकरणको वेवास्ताका कारण स्थानीयको ज्यान जोखिममा परेको छ। बिद्युत प्राधिकरणलाई पटक पटक जानकारी गराउँदा पनि लत्रिएको तार नउठाई दिँदा केराबारी ६ तामाङ टोलस्थित मिरमिरे चोक छेउका स्थानीयको ज्यान जोखिममा परेको हो।

स्थानीय याम तामाङले बिद्युत प्राधिकरण बेलबारीलाई सत्र पटक भन्दा बढि जानकारी गराएको भएपनि आज भोली भन्दै आलटाल गर्ने गरेको गुनासो गर्नुभयो। उहाँले वडाध्यक्ष एवं वडासदस्यहरुलाई पनि पटक पटक जानकारी गराएको र उनिहरुले पनि प्राधिकरणलाई भनेको तर सुनुवाई नभएको बताउनुभयो।

नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले उत्कृष्ट कार्यसम्पादन गर्दै जनताको मन जितिरहेको समयमा उनै कुलमानको बिभागमा यस्तो लापरबाही भएपछि स्थानीयको रिसको पारो तातेको छ।

स्थानीय भन्छन ‘बिद्युत आयो भनेर पहिला त दंग थियौँ, बिद्युत सँगै काल पनि सँगै आएको रहेछ,यसरी तार लत्रिएर ज्यान जोखिममा पर्दा काल घरै अगाडी आएर कुरी रहेको अनुभव भईरहेको छ’