कोभिड- १९ [अपडेट]

के गर्नु तिम्रो भाग्यमा प्वाल पर्‍या रहेछ

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ 26, 2077

हुन त मलाई आम मान्छेहरु अनेकौं नाम र परिचयले चिन्छन्। भरौटे, बन्दुके, अरुको ईशारामा चल्ने जात। यस्तै–यस्तै अरु के के हो के के। तर जसले जे भनेपनि जुन परिचयले मलाई चिनेपनि म एक “सिपाही” हुँ। राष्ट्रको मेरुदण। सोच्नुहोस् त तपाईको शरीरमा मेरुदण्ड भएन भने हालत के हुन्छ। हो म पनि त्यस्तै हुँ। यदि म भईन भने देश सिङ्गो रहन्न। यो मैले भनेको हैन पुर्खाले प्रमाणित गरेर गएको हो। इतिहास पढ्दै नपढ्नेलाई पनि स्पष्ट छ।

“राष्ट्रको सिपाही हुन नपाउनुको पीडा हरेक नागरीकको मनमा हुन्छ।” चाहे उ डाक्टर होस्, चाहे पाईलट, चाहे कृषक, मजदुर, ईन्जिनियर, शिक्षक, धनी, गरिब चाहे जे सुकै होस। मुख फोर्न मात्रै सक्दैनन्। भन्नेले भन्लान् बन्दुक समाउने जात मलाई पटक्कै मन पर्दैन भनेर। सिपाहीले गरे दुख देखेर। सिपाहीलाई हुने आर्थिक अभाव देखेर। सिपाहीको ब्यस्त जीवन देखेर। जे देखेर जे भने पनि सिपाही हुन नपाउनुको पीडा चै यो लेख पढिरहने तपाईलाई पनि भईरहेछ भन्ने मलाई मजाले थाहा छ।

अन्य क्षेत्रको तुलनामा थोरै तलब भत्ता। परिवारलाई कम समय वा समय दिन नसक्नु। अत्यन्तै दुस्ख र परिश्रमलगायत अन्य धेरै अभावको बाबजुत पनि राष्ट्रको हरेक सिपाही कहिले मलिन देखिन्न।

अनेकन हातहतियारले सुसज्जित सिपाहीलाई देख्दा चाहे संसारकै ठूलो मान्छे पनि मन मनै रहर गर्दा हुन्। आफ्नै हातले राईफल समाउन तर यो अवसर खुलेआम सिपाहीलाई बाहेक मरे पनि मिल्नेवाला छैन। चाहे जो सुकै होस।

स्कुल पढ्दा देखि उसलाई धेरै मन पराउथेँ। उसले पनि उत्तिकै। मरे सँगै बाँचेसँगै भनेर राम मन्दिरमा कसम खाएको। प्रेममा गरेको अनेकौं बाचा बन्धन सबै बिर्सेर उ अन्तै गई। सायद त्यो बेला मेरो गरिबी र अल्लारेपन पचाउन सकिन। मोरीको भाग्य नै प्वाल पर्‍या रै छ के गर्नु। मलाई छाडेर अर्कै सँग गई। पञ्चेबाजा बजाएर हैन। ब्याण्ड बाजा बजाएर। पछाडी जन्ती र ब्याण्डले भरिएको गाडी थियो अगाडि फुलले सजिएको कार। अनि कार भित्र सजिएकी उ। निक्कै राम्री देखिएकी थिई। म सडक छेउमै उभिएर हेरिरहेँ। मैले देखे उसले देखिन। देखेको भए पनि ख्याल गरिन। पलभरमै कारसँगै जन्तीको बस हुईकियो। ७/८ बर्षको प्रेम चकनाचुर भो उफ्फ।

हिजो बिहे नगर्दा हरेक रात मेरो ओछ्यानमा म सँगै हुन्थिन् उ। साँच्चै हैन नि कल्पनामा। उसको बिहे भो, मेरो पनि बिहे भो आज मेरो ओछ्यानमा अर्कै छिन मेरो प्यारी श्रीमती। यो चाँही कल्पना हैन नि साँच्चै हो।

उसले धनी केटासँग बिबाह गरिन। जहाँ सुख सयल मोज मस्ती सब छ। श्रीमान पनि म भन्दा ह्याण्डसम नै छ। पैसाको कहिले खाँचो पर्दैन। उसको एउटा छोरा पनि जन्मिएको छ। बिबाह अगाडि भन्दा निकै भद्दा ज्यान भएको छ। सायद सुत्केरीमा निकै खुराक मिल्यो कि। सायद मेरो श्रीमती जस्तो दुख गर्नुपर्दैन कि। पर्दैन हैन गर्दै गर्दैन नि। माईतीको एक्लि छोरी। राम्रो घरमा बिबाह भएको मान्छे।

उसको जस्तो घर त छैन तर मैले पनि श्रीमतीलाई डेरामा राखेको छु राजधानीमै। समय समय छुट्टिमा जाँदा दुख पोख्छु अनेकौं शीर्षकमा। मेरो दुखयुक्त कुरालाई कसैले मतलबै गर्दैनन्। बरु मेरी श्रीमती खुसी हुँदै भन्छिन् “सिपाहीको श्रीमती हुने सौभाग्य सबै नारीलाई कहाँ मिल्छ ?” म त धेरै भाग्यमानी छु र त राष्ट्रको ‘मेरुदण्ड’ सँग बिबाह भयो। श्रीमती यसो भन्दै गर्दा मैले पनि मनमनै भने देखिस तँ अभागिनी “मदन” पनि चानचुने मान्छे कहाँ हो र। के गर्नु तिम्रो भाग्यमा प्वाल पर्‍या रहेछ।

(प्रस्तुत लेखमा प्रकाशित शिर्षक सबै नारीलाई सिपाहीको जीवनसाथी हुने सौभाग्य कहाँ मिल्छ ? कास्कीको पोखरा निवासी मदन तामाङले आफ्नो ब्लगमा प्रकाशित सामाग्रीसँग मेल खाएको जानकारी गराउनु भएको हुँदा शिर्षक परिबर्तन गरिएको छ-सम्पादक)


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved