एजेन्सी / पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जुनसुकै बेला इटाली जान सक्ने अनुमति पाएका छन्।

इटालियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोलाई पोर्चुगल सरकारले जुनसुकै बेला पनि इटाली आवत–जावत गर्न अनुमति दिएको हो।

प्राणघातक प्रकोप कोरोना भाइरस (कोभिड–१९)का कारण इटालीबाहिर जान र आउन रोक लगाइएको छ।

इटालीको सरकारले कोरोनाकै कारण खेलकुदमा रोक लगाएको छ भने शैक्षिक संस्थाहरू पनि बन्द गर्ने निर्णय गरेको छ।

सम्पूर्ण विमानस्थल बन्द रहेका बेला रोनाल्डोले भने जुनसुकै बेला पनि इटाली आवत–जावत गर्ने अनुमति पाएका छन्। उनलाई पोर्चुगल सरकारले यस्तो अनुमति दिएको हो।

रोनाल्डो केही दिन अगाडि स्वदेश फर्किएका छन्। कोरोनाका इटालियन सिरी ‘ए’का खेल स्थगित भएपछि रोनाल्डो पोर्चुगल फर्किएका हुन्।

इटालियन सरकारले ३ अप्रिलसम्मका लागि सिरी ‘ए’का खेलहरू स्थगित गरेको थियो। लिग खेल स्थगित भएसँगै उनी आफ्नी आमालाई भेट्नका लागि पोर्चुगल फर्किएका हुन्।

उनी गर्लफ्रेन्ड जर्जिना रोड्रिग्वेज र आफ्ना सन्तानलाई लिएर आमालाई भेट्न पोर्चुगल गएका हुन्। २ मार्चमा रोनाल्डोकी आमा डोलोरेस एभेइरोलाई स्ट्रोक भएको थियो।

६५ वर्षीया एभेइरोलाई मेडेइरास्थित अस्पतालमा भर्ना भएपछि उनी पोर्चुगल गएका थिए। केही दिनको बसाइपछि इटाली फर्किएका उनले इन्टर मिलानविरुद्धको खेल खेलेका थिए।

आफ्नो १०००औं खेल खेलेका रोनाल्डो सिरी ‘ए’ स्थगित भएसँगै पुनः पोर्चुगल फर्किएका हुन्।

अब उनी आगामी बिहीबार इटाली फर्कने योजनामा छन्। उनी आफ्नै विमानबाट इटाली फर्कने छन् ।