काठमाण्डौ / पछिल्ला दिनमा दक्षिण कोरियामासमेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँस्थित नेपाली दूतावासले दक्षिण कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

दक्षिण कोरियामा पछिल्लो एक दिनमै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दोब्बर भएपछि आज विज्ञप्तिमार्फत संक्रमणबाट जोगिन प्रभावकारी ढंगबाट सुरक्षाका उपाय अपनाउन दूतावासले अपिल गरेको हो।

हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरू देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरू, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन राजदूतावास अनुरोध गर्दछु, दूतावासको विज्ञप्तिमा भनिएको छ।

कोरोना भाइरसको संक्रमणको शंका लागेका अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच र उपचार गराउन सक्ने जनाउँदै त्यस्ता व्यक्तिलाई पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियत बारेमा नसोध्न अस्पतालहरूलाई निर्देशन दिइएको कोरियाको अध्यागमन विभागलाई उद्धृत गर्दै दूतावासको विज्ञप्तिमा जनाइएको छ।

९ फागुनसम्म २ सय ४ जना व्यक्तिमा सो भाइरसको संक्रमण देखिएको दक्षिण कोरियामा २ सय २९ जना एकै दिनमा थपिएका अन्तर्राष्‍ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या कूल ४ सय ३३ जना पुगेको छ।

दक्षिण कोरियामा कोरोना भाइरस दुईजनाको ज्यान गइसकेको छ।

थेगु र चेओङ्डोलाई विशेष निगरानीको क्षेत्र घोषणा गरिएको छ। थेगुका सडकमा मानिसको आवतजावत घटेको छ।

चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमण केही समययता दक्षिण कोरियामा पनि देखा परेको हो।