काठमाण्डौ / विद्युतीय गाडीको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले सस्तो महशुलमा बिजुली दिने प्रस्ताव गरेको छ । 

विद्युत प्राधिकरणले तयार पारेर विद्युत नियमन आयोगमा पठाएको शुल्क अनुसार विद्युतीय गाडी चार्ज गर्दा न्युनतम मूल्य प्रतियुनिट ४ रुपैयाँ ४५ पैसा कायम गरिएको छ। 

प्राधिकरणले मौसम र समय अनुसार फरक–फरक दर निर्धारण गरेको छ। तर शुल्क तालिका विद्युत नियमत आयोगले स्वीकृत गर्न बाँकी रहेको छ। प्राधिकरणले वैशाखदेखि मंसिरसम्म र राति ११ बजेदेखि बिहान ५ बजेसम्म विद्युतीय गाडी चार्ज गर्दा सस्तो महसुल निर्धारण गरेको छ।

वैशाखदेखि मंसिरसम्म ३३ केभीको लाइन प्रयोग गर्नेले न्यूनतम ४ रुपैयाँ ४५ पैसादेखि  ११ रुपैयाँ २० पैसा प्रतियुनिटसम्म तिर्नुपर्नेछ। ३३ केभीका प्रयोगकर्ताले साँझ ५ देखि राति ११ बजेसम्म प्रतियुनिट ११ रुपैयाँ २० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ४ रुपैयाँ ४५ पैसा र बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ १० पैसा महसुल तिर्नुपर्नेछ। 

११ केभीका ग्राहकले साँझ ५ देखि राति ११ बजेसम्म ११ रुपैयाँ ६० पैसा, राति ११ देखि बिहान ५ बजेसम्म ५ रुपैयाँ ५ पैसा, र  बिहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ २० पैसा प्रतियुनिटका दरले महसुल तिर्नुपर्नेछ। 

यस्तै वैशाखदेखि मंसिरसम्म २ सय ४० देखि ४ सय भोल्टसम्मका ग्राहकले बेलुकी ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ ७० पैसा, राती ११ देखि विहान ५ बजेसम्म ५ रुपैयाँ १५ पैसा र विहान ५ देखि बेलुकी ५ बजेसम्म १० रुपैयाँ ३० पैसा प्रतियुनिट तिर्नुपर्नेछ। पुसदेखि चैतसम्मको शुल्क फरक छ। पुसदेखि चैतसम्म निजी विद्युतीय सवारीलाई साँझ ५ देखि राती ११ बजेसम्म ११ रुपैयाँ २० पैसादेखि ११ रुपैयाँ ७० पैसासम्म र राती ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म प्रतियुनिट शुल्क तोकिएको छ। सार्वजनिक रुपमा चल्ने विद्युतीय यातायातको लागि पनि सस्तो शुल्कको व्यवस्था गरिएको छ। बैशाखदेखि मंसिरसम्मको समयमा सार्वजनिक यातायात चार्ज गर्दा न्युनतम ४ रुपैयाँ ४५ पैसादेखि अधिकतम ८ रुपैयाँ ७० पैसा प्रतियुनिट महसुल तोकिएको छ। 

बेलुकी ५ देखि ११ बजेसम्म चार्ज गर्दा ८ रुपैयाँ ७० पैसा र राती ११ देखि विहान ५ बजेसम्म चार्ज गर्दा ४ रुपैयाँ ४५ पैसा प्रतियुनिट शुल्क लाग्नेछ। 

पुसदेखि चैतसम्म सार्वजनिक विद्युतीय गाडीले भने सस्तोमा बिजुली पाउनेछन्।

पुसदेखि चैतसम्मको समयमा साँझ ५ बजेदेखि राती ११ बजेसम्म न्युनतम ८ रुपैयाँ ४० पैसादेखि ८  रुपैयाँ ७० पैसा तिर्नुपर्नेछ। राति ११ देखि साँझ ५ बजेसम्म ६ रुपैयाँ ६० पैसादेखि ६ रुपैयाँ ९० पैसासम्म तिर्नुपर्नेछ। 

चार्जिङ स्टेशन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएबापत अधिकतम २० प्रतिशतसम्म मुनाफा लिन पाउने प्राधिकरणले प्रस्ताव गरेर विद्युत नियमन आयोगमा पठाएको छ।