काठमाण्डौ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको मध्यपूर्वको शान्ति योजना इस्लामिक देशहरुले अस्वीकार गरेका छन्।

इस्लामिक देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेसन (ओआईसी)ले मध्यपूर्वको शान्ति योजना अस्वीकार गरेको हो।

ओआईसीले आफ्ना सबै सदस्य राष्ट्रहरुलाई मध्यपूर्वको शान्ति योजनामा कुनै पनि प्रकारको सहयोग नगर्न निर्देशन दिएको बीबीसीले लेखेको छ।

ओआईसीमा विश्वका ५७ देशहरु संगठित छन्। ओआईसीले विश्वका करिब डेढ अर्ब मुसलमानहरुको प्रतिनिधित्व गर्दछ।

सोमबार जेद्दामा भएको बैठकपछि ओआईसीले भनेको छ, ‘अमेरिका इजरायल योजना अस्वीकार गर्दछ किनभने यो योजनाले प्यालेस्टिनी जनताको वैध अधिकार र अपेक्षा पूरा गर्दैन। यसले शान्ति प्रक्रियाका शर्तहरुको पनि उल्लंघन गर्दछ।’

अमेरिकी योजनाअनुसार पूरै जेरुसेलम शहरमा इजरायलको अधिकार हुनेछ र इजरायल प्यालेस्टिनी जमिनमा बसाइएको यहुदी बस्तीलाई पनि आफ्नो नियन्त्रमा लिन सक्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यस योजनाअनुसार इजरायलसँग अभिभाजित जेरुसेलम रहन्छ र प्यालेस्टिनले इजरायलको कब्जावाला पूर्वी जेरुसेलम नजिक राजधानी घोषणा गर्न सक्छ।

इजरायलको कब्जामुक्त भएमात्र मध्यपूर्वमा शान्ति हुने ओआईसीको ठहर छ। मध्यपूर्वको संघर्षको जड नै इजरायल र प्यालेस्टाइनबीच जारी विवादलाई मानिएको छ।

सोमबार जेद्दामा बसेको ओआईसीको बैठकमा इरान भने सहभागी थिएन। यद्यपि इरानले पहिलेदेखि नै अमेरिकाको शान्ति योजनाको आलोचना गर्दै आएको छ।