काठमाण्डौ / चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ। 

काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ। 

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ। 

चीनमा एकैदिन तीन हजारभन्दा बढीमा सङ्क्रमण देखिएको र सोमबारमात्रै ६४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्। 

चीनभन्दा बाहिर २४ देशमा गरी अहिलेसम्म एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भैसकेको छ। 

कोरोना भाइरसमा ज्यान गुमाउनेको सङ्ख्या सन् २००२–०३ मा सार्स भाइरसका कारण ज्यान गुमाउनेभन्दा धेरै भैसकेको छ। चीन र हङकङमा फैलिएको ‘सार्स’ भाइरसका कारण तीन सय ४९ जनाको ज्यान गएको थियो।  

यसैबीच अमेरिकाले कोरोना भाइरसलाई लिएर त्रास फैलाइरहेको चीनले आरोप लगाएको छ। 

अमेरिकाले कोरोना भाइरसको प्रकोपलाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ। साथै अमेरिकाले पछिल्ला दुई हप्तामा चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न नदिने बताएको छ।

चीनको विदेश मन्त्रालयले अमेरिकाको फैसलाले डरको वातावरण सिर्जना भएको बताएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्गले भने, ‘अमेरिकाले सहयोग गर्नुको साटो डर फैलाइरहेको छ।’