काठमाण्डौ / मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन्। तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ रु सबैले दिने उत्तर हो–यो त असम्भव। तर, भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन्।

दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन्। मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो। मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ।

उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ। मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन।

बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३२० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो। सन् २०१९ मा ४१० करोड रुपैयाँ दान प्राप्त भएको जनाइएको छ। यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो। त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ। -एजेन्सी