बिराटनगर / मोरङको लेटाङमा दुईजना बालिकामाथि बलात्कार र बलात्कार प्रयास गरिएको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। एकै दिन पक्राउ पर्नेमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय राजु दमाई छन्।

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कार्की र १४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दमाई पक्राउ परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार गाउँबाट खसीको मासु लिएर आउँदै गर्दा लेटाङ–८ की बालिकालाई कार्कीले आफ्नै घर भित्र लगेर बलात्कार गरेको खुलेको छ।

ललाईफकाई प्रलोभनमा पार्न खोजे पनि इन्कार गरेपछि बालिकालाई विभिन्न धम्की दिँदै भित्र लगेर बलात्कार गरेको खुलेको थापाले बताउनुभयो। बालिकाले घटनाका बारेमा सबै कुरा बताएपछि अभिभावकले कार्की विरुद्ध किटानी जाहेरी दिएका छन्।

पक्राउ परेका कार्की विरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। बलात्कृत बालिकालाई भने उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल बिराटनगर ल्याइएको छ।

त्यस्तै पक्राउ परेका दमाईले लेटाङ–५ खेरुवामा पढ्नका लागि स्कुल जाँदै गरेकी १४ वर्षीय बालिकामाथि बलात्कार प्रयास गरेका छन्। बाटोमा रहेको एकान्त जंगलमा पछाडिबाट आएर मुख थुने पनि उम्किएर भाग्न सफल भएका कारण बालिका बलात्कृत हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

फुत्किएर भाग्ने क्रममा बालिकाको अनुहारमा सामान्य चोटहरु लागेको डीएसपी थापाले बताउनुभयो। उनलाई पनि उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पतालमै ल्याइएको छ। डीएसपी थापाकाअनुसार बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि पक्राउ परेका दमाई विरुद्ध बाल यौन दुरव्यवहार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको छ।