भोजपुर / जिल्ला अदालत भोजपुरले साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको फैसला गरेको छ।

अदालतले बलबहादुरको हत्यामा संलग्न भोजपुर नगरपालिका-१० भैँसीपङ्खाका ४३ वर्षीय राईलाई जन्मकैदको सजाय सुनाएको हो। 

अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नायव सुब्बा खड्ग भट्टराईले बताउनुभयो।

त्यस्तै अदालतले मृतककी श्रीमती महिना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख रुपैयाँ क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ। आफ्नै घरको पेटीमा आराम गरेर बसेका बलबहादुरलाई श्रीकृष्णले जाँडरक्सी खाएर बिनाकारण कुटपिट गरी गएकाे असोज १५ गते घाइते बनाएका थिए।   

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक बाेतल रक्सी किनेर एक आपसमा मिलापत्र गरेको भए पनि बलबहादुरको गत असोज १७ गते घरमै  ज्यान गएको थियो। बलबहादुरको कुटाइका कारण ज्यान गएपछि परिवारले जाहेरी दिएको थियो।