एजेन्सी / स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक इर्नेष्टो भालभेर्डेलाई बर्खास्त गरेको छ।

बार्सिलोनाले भालभेर्डेसँगको सम्झौता तोड्दै उनलाई क्लबको प्रशिक्षकबाट हटाएको जनाएको छ। २०१७ मे मा बार्सिलोनाको प्रशिक्षक बनेका भालभेर्डोलाई बार्सिलोनाको अघिल्लो साता सुपरकप सेमिफाइनलमा एटलेटिकोसँग अप्रत्याशित हारपछि क्लबले एक्सन लिदै हटाएको छ।

उनले बार्सिलोनाका लागि अहिलेसम्म १४५ खेलमा प्रशिक्षकको भूमिका निभाएका छन्। जसमा ९७ जित ३२ बराबरी र १६ हार बेहोरेका छन्। बार्सिलोनासँग उनले दुई सिजन ला लिगा, एक कोपा डेल रे र २०१८ को सुपर कप जितेका थिए।

बार्सिलोनाले भालभेर्डेलाई हटाएर उनको ठाउमा क्यूइक्यू सेटीएनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ। बार्सिलोनाका पुर्व खेलाडी जाभीलाई कोच बनाउने हल्लाका बीच बार्सिलोनाले रियल बेटिसका पुर्व कोचलाई ल्याएको छ। उनलाई २०२२ को अन्त्यसम्मका लागि बार्सिलोनाको कोच बनाइएको छ।

६१ बर्षिय सेटीएनले लास पलमाज र रियल बेटिस क्लबको कोचको रुपमा निकै सफल भएका थिए।